पुरस्कार संचालन तथा वितरण निर्देशिका २०६८
(२०७८ र २०८१ का संशोधनसमेत)
पुरस्कारहरु :
रुद्रगौरी अम्बिका ओली प्रतिष्ठानको स्थापनाको मूल उद्देश्य व्यक्ति तथा संस्थाले गरेका सकारात्मक र नविन प्रयत्नहरुलाई प्रश्रय दिदैं व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान र प्रवद्र्धनका लागि सम्मान तथा पुरस्कृत गर्नु रहिआएको छ । सो उद्देश्य परिपूर्तिका लागि प्रतिष्ठानले वि.सं. २०६८ सालमा कृषि विधा, महिला विधा, बाल विधा र पत्रकारिता तथा साहित्य विधा गरी चारवटा विधामा पुरस्कारहरु स्थापना गरी वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।
यस प्रतिष्ठानले थप विधामा समेत पुरस्कार स्थापना गर्नुपर्ने आवश्यकतालाई महशुस गरी वि.सं. २०७८ सालमा थप एक पुरस्कार स्थापना गरेको छ । थप गरिएको पुरस्कारमा मानव सेवा तथा कल्याणमा समर्पित र नेपाली समाजलाई आलोकित पार्ने व्यक्ति तथा संस्थाहरुलाई उत्प्रेरित गर्न श्रीप्रसाद ओली स्मृति प्रज्ञान राष्ट्रिय पुरस्कार रहेको छन् । श्रीप्रसाद ओली स्मृति प्रज्ञान राष्ट्रिय पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिने छ ।
श्रीप्रसाद ओली स्मृति प्रज्ञान राष्ट्रिय पुरस्कारको राशी रु ५,००,०००।– (पाचँ लाख रुपैया मात्र) रहेको छ । यसअघि नै स्थापना गरी वितरण हुँदै आएका चारवटा पुरस्कारको राशी जनही रु.१,०१,१११.०० (एक लाख एक हजार एक सय एघार रुपैँया मात्र) रहेको छ ।
यस बाहेक समय समयमा स्थापना गर्ने सम्मान र पुरस्कारको राशी संस्थाले निर्धारण गरे बमोजिम एकल वा संयुक्त रुपमा प्रदान गरिने छ । पुरस्कारहरु वितरण गर्न आवश्यक पर्ने धनराशीका लागि प्रतिष्ठानमा एक करोड रुपियाँको अक्षय कोषको व्यवस्था गरिएको छ भने संस्थाले समय समयमा अतिरिक्त स्रोतबाट समेत रकम जम्मा गर्दै आएको छ ।
पुरस्कार स्थापनाका विधागत उद्देश्यहरुः
प्रज्ञान विधाः
क. श्रीप्रसाद ओली स्मृति राष्ट्रिय प्रज्ञान पुरस्कारः
प्रज्ञान विधा भन्नाले राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा नेपाल र नेपालीको सेवा तथा कल्याणमा समर्पित रही समग्र मानवहित तथा समाजको उत्थानका लागि गरिने कार्यतथा योगदानहरूलाई जनाउने छ । यस उद्देश्यका लागि देहायका पक्षहरुमा पुर्याएका योगदानहरु समेटिनेछन्। यो पुरस्कार एकल वा संयुक्तरुपमा प्रदान गर्न सकिने छ ।
- मानव सेवा तथा कल्याणमा समर्पित र नेपाली समाजलाई सभ्य र आलोकित पार्न अनुकरणीय योगदान दिने,
- शान्ति र सामाजिक सद्भावका लागि मानवमात्रलाई उत्प्रेरित गर्न महत्वपूर्ण योगदान पुर्याउने,
- विभिन्न क्षेत्रमा क्रियाशील रहेर समग्र मानवजाति तथा राष्ट्रको उत्थानमा अनुकरणीय योगदान पुर्याउने,
- राष्ट्रको आर्थिक, सामाजिक, शैक्षिक र अन्वेषणात्मक कार्यमा मानक स्थापितगरी अन्तराष्ट्रिय क्षेत्रमा समेत छुट्टै पहिचान बनाएका वा बनाउन क्रियाशील व्यक्तित्व ।
ख. रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारः
कृषि विधा भन्नाले परम्परागत र आधुनिक कृषि प्रणाली जस्तै फलफूल, तरकारी, मासुको प्रयोगजनका लागि बोहकका पशुपालन, खाद्यान्य तथा नगदेवालीहरूलाई जनाउने छ । यस कार्यमा संलग्न कृषकदेखि विशेषज्ञसम्मका सबै पक्ष र उनीहरुले दिएका योगदानहरू यस विधा अन्तर्गत समेटिने छन्। यो पुरस्कार एकल वा संयुक्तरुपमा प्रदान गर्न सकिने छ ।
- कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि कृषक, विशेषज्ञ, कृषि उद्यमी तथा यस क्षेत्रसंग सम्बन्धित संघ/संस्थाहरुलाई प्रेरित गर्ने,
- सफल अभ्यासहरुलाई देशका विभिन्न भागमा फैलाउन पहल गर्ने,
- स्थानीय प्रविधि, ज्ञान र सीपहरुलाई आदान प्रदान गर्न कृषकहरुलाई प्रेरित गर्ने,
- अमानवीय, अस्वस्थ्य, अनुवांशिक, अजैविक जस्ता कृषि उत्पादनलाई हतोत्साहित गर्ने ज्ञानलाई प्रेरित गर्ने।
महिला विधाः
ग. गौरा देवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार
आदर्श आमा विधा भन्नाले महिलाको गौरब, प्रतिष्ठा बढाउने तथा समानता कायम गर्नयोगदान दिने पक्षहरु पर्नेछन्। यस विधा अन्तर्गत महिलाहरूको सर्वाङ्गिण उत्थानका लागि क्रियाशील महिलाहरूका कार्यतथा योगदानहरू समेत समेटिनेछन्। यो पुरस्कार एकल वा संयुक्तरुपमा प्रदान गर्न सकिने छ ।
- महिला र पुरुषबीचको सामाजिक विषमता अन्त्यका लागि परिवारिक तथा समुदायिक बातावरण लैगिंक मैत्री/अनुकुल बनाउन उत्प्रेरक र अग्रणी भूमिका निर्वाह गरेका,
- लैगिंकृत भूमिका र सामाजिकीकरणको श्रृखलालाई सन्तुलित र मर्यादित बनाउन योगदान दिएका,
- लैगिक भेदभावयुक्त व्यवहार, रुढीगत प्रचलन र महिला हिंसा विरुद्धमा उल्लेख्य योगदन पुर्याएका,
- महिलाहरुको शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक, विज्ञान तथा प्रविधि, खेलकुद तथा स्वास्थको क्षेत्रमा उल्लेख्य तथा अनुकरणीय योगदान पुर्याएका,
- आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा नेतृत्वदायी, अनुकरणीय र संरक्षकत्वको भूमिकामा मानक स्थापित गर्न योगदान गरेका ।
पत्रकारिता तथा साहित्य विधाः
पत्रकारिता तथा साहित्य विधाको यो पुरस्कार हरेक वर्ष पत्रकारिता विधा र साहित्य विधामा आलोपालो गरी प्रदान गरिनेछ ।
घ. अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता तथा साहित्य पुरस्कार :
पत्रकारिता तथा साहित्य विधा भन्नाले दुई वटा क्षेत्र पत्रकारिता पेशा र साहित्य सिर्जनामा क्रियाशील व्यक्तिका कार्य तथा योगदानलाई जनाउने छ । यो पुरस्कार एकल वा संयुक्तरुपमा प्रदान गर्न सकिने छ ।
पत्रकारिता तर्फ :
- पत्रकारिताको माध्यमबाट सामाजिक सद्भाव तथा सहिष्णुता बढाउन प्रेरितगर्नसकृयरुपमा क्रियाशील रहेका,
- ग्रामीण समुदाय, पछाडि पारिएको वर्ग तथा लिङ्गलाई सञ्चारको माध्यमबाट सशक्तिकरण गर्न क्रियाशील रहेका,
- जनताको सूचनाको हक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धनका लागि पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्ने,
- सुशासन तथा पारदर्शीताको सस्कृतिलाई आत्मसात गर्नका लागि पत्रकारिताको क्षेत्रबाट पहलगर्न अभिप्रेरित गर्न लागिपरेका ।
साहित्य तर्फ :
- साहित्यमार्फत समाजलाई समयानुकूल, समुन्नत र सभ्य बनाउन प्रोत्साहित गरेका,
- मानवको सिर्जनात्मक क्षमताको पूर्ण उपयोग गर्नका लागि स्रष्टाहरुलाई प्रेरित गरेका,
- समाजका कुनै लिंग, वर्ग वा जातजातिको मर्यादालाई सम्मानितरुपमा स्थापित गर्न योगदान दिएका,
- उनीहरुका बीचमा भेदभाव गर्ने परम्परागत साहित्य लेखनलाई हतोत्साहित गर्दै असल साहित्य निर्माण गर्न सर्जकहरुलाई उत्पेरित गर्ने
- महिलाहरुलाई तुच्छ, घृणित तथा यौनवस्तुका रुपमा चित्रित गर्ने र विशेष हैसियतबाट महिलालाई बञ्चित गर्ने जस्ता लैंगिक विभेदकारी परम्परागत साहित्य लेखनलाई हतोत्साहित गर्दै असल साहित्य निर्माण गर्न सर्जकहरुलाई उत्पेरित गर्ने ।
बाल विधाः
ङ) देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारः
बाल विधा भन्नाले १८ वर्ष मुनिको उमेर समूहका बालबालिकाका कार्य तथा योगदानलाई जनाउने छ । यसका अतिरिक्त बाल विकासमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई समेत समावेश गरिने छ ।
- मौलिक तथा सिर्जनशील बाल पुस्ता निर्माणमा महत्वपूर्ण योगदान दिने ।
- विविध क्षेत्रका सिर्जनशील बाल प्रतिभाहरु,
- आर्थिक, सामाजिक, सास्कृतिक कुसंस्कार विरुद्धको जागरण (सचेतना अभिवृद्धि) मा अग्रणी र मानक स्थापित गर्न लागि परेका बालबालिका,
- बाल अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा क्रियाशीलरही बाल / किशोर–किशोरीहरुलाई समाज परिवर्तनका लागि सिर्जनशील भुमीका निर्वाह गर्न हौसला प्रदान गर्ने
- सक्षम, आत्मविश्वासी तथा जागरुक नयाँ पुस्ता निर्माण गर्न क्रियाशील गराउने ।
पुरस्कारका लागि ग्राह्यता
नेपाल भित्र रहेर तोकिएका विधामा नयाँ आविष्कार वा अनुकरणीय कार्य गरी जीवनस्तर उकास्न मौलिक अभ्यासहरु गरेका व्यक्ति तथा संस्थाहरु पुरस्कार पाउनका लागि ग्राह्य÷योग्य हुनेछन । निम्न मापदण्डहरुभित्र रहेर निर्णायक समितिले पुरस्कार विजेता छनोटका लागि विस्तृत मापदण्ड तथा मुल्याङ्कन विधि निर्धारण गर्नेछ –
- योगदानको मौलिक तथा नौलोपना
- योगदानको सफलता र प्रभावकारिता
- योगदानको गुणस्तर
- उपलव्ध स्रोतहरुको प्रभावकारी उपयोग
- आविस्कारलाई आम अभ्यासमा ल्याउन सकिने संभावना
- सम्वन्धित विधामा उसको निरन्तरता तथा प्रतिवद्धता
- योगदानकर्ताको सार्वजनिक छवि
- पुरस्कारको स्थापना उद्देश्य तथा कार्यक्षेत्र भित्र रहेर पुरस्कार छनोटका लागि मापदण्ड तथा मुल्यांकन विधि तयार पार्नु पर्नेछ । यसरी मापदण्ड तयार पार्दा सूचक तथा तीनको अकंभार समेत प्रष्ट खुल्ने गरी मुल्यांकन विधि निर्धारण गर्नु पर्नेछ ।
- सचिवालयले सार्वजनिक रुपमा आह्वान गरी प्राप्त आवदेनका साथै आफूले थाहा पाएका थप नाम समेत निर्णायक समितिले मुल्यांकन गरी नाम सिफारिस गर्ने छ ।
- मुल्यांकन फारम सहित कार्यसमितिलाई सिफारिस गर्नु पर्नेछ ।
- यसरी निर्णायक समितिले कार्यसमितिसमक्ष नाम सिफारिस गर्दा सिफारिस गरिएका व्यक्ति वा संस्थालाई पुरस्कार दिनु पर्ने कारण तथा आधारहरु र पुरस्कार स्थापनाको उद्देश्यसंग सम्वन्धित उम्मेद्वारले गरेको योगदान प्रष्ट्याउनु पर्नेछ ।
- सम्वन्धित विधामा पुरस्कार सम्मानका लागि व्यक्ति तथा संस्था चयन गर्न प्राथमिकताका आधारमा सम्भावित तीन जनाको नाम कार्यसमितिलाई सिफारिस गर्नेछ ।
- आगामी वर्षका लागि पुरस्कार आवह्वान गर्न सम्भावित उपविधा तथा मापदण्डहरु कार्यसमितिलाई सिफारिस गर्नेछ ।
- आवश्यकता अनुसार कार्यसमितिसंग समन्वय गर्नेछ ।
- पुरस्कार सिफारिसका लागि आवेदनको म्याद हरेक वर्षको पुस समान्तसम्म कायम हुनेछ ।
- तत्कालको वा विगतको विशेषगरी पाँच वर्षभित्र गरिएका उल्लेख्य योगदानहरुका आधारमा पुरस्कारका लागि उम्मेद्वारी सिफारिस माग गरिने छ ।
- पुरस्कृत गरिने कार्य नेपाल भित्र रहेर सम्पादन गरिएको हुनुपर्नेछ ।
- संस्थाको वेवसाइट साथै आवश्यकता अनुसार सामाजिक सञ्जाल, सार्वजनिक सामाजिक माध्यम, आम संचारमाध्यम आदि माध्यमबाट आवेदन आह्वान गरिनेछ ।
- आवेदनगर्दा पुरस्कार स्थापनाको विधागत उद्देश्यहरु सार्वजनिक रुपमा (वेवसाइट, लिफलेट, सामाजिक माध्यम आदि) उपलब्ध गराइने छ ।