संक्षिप्त परिचयः
श्री सृजना कार्कीको जन्म वि.सं. २०३१ साल जेठ ५ गते दोलखाको झुलेमा पिता चेत बहादुर कार्की र माता धन कुमारी कार्कीको कोखबाट भएको थियो । विगत १८ बर्ष देखि आफ्नो सम्पूर्ण उर्जा र समय संकटासन्न अवस्थामा रहेका बालबालिका, जेष्ठ महिला, अपाङ्ग महिला, मानसिक रुपमा असर परेका महिला, किशोरीहरुको पुनस्र्थापना कार्यमा समर्पण गर्नु भएकी सृजना अविवाहित समाजसेवाी तथा महिला अधिकारकर्मी अभियान्ता हुनुहुन्छ । औपचारिक रुपमा २०६९ सालमा विधिवत रुपमा “आवाज नेपाल, दोलखा” नामक संस्था दर्ता गरी बलात्कारबाट गर्भ रहेका महिला तथा बालिका, बलात्कारमा परेका किशोरी, आफन्तबाट बलात्कारमा परेर घरबाट निकालिएका महिला तथा किशोरी, बलात्कारबाट गर्भरही जन्मिएका बालबालिका, मानसिक रुपमा बिक्षिप्त भई सडकमा जीवन बिताई रहेका महिला, उनीहरुबाट जन्मिएका बच्चा लगाएत अप्ठ्यारोमा परेका जो कोही व्यक्तिलाई पनि उद्धार गरी संरक्षण, पालन पोषण, शिक्षा दीक्षा , पारिवारिक पुर्नमिलन, जिविकोपार्जन सम्बन्धी तालिम, न्यायमा पहुचको लागी पहल, आमाले छाडेको र मृत्यु भएका किशोरीको नावालक वच्चाहरुलाई संरक्षण, रेखदेख, पालनपोषण, शिक्षा दीक्षा ,जन्म दर्ता ,नागरिकता एवं अन्य कानुनी कागजात बनाउन पूर्ण सहयोग गर्दै आउनु भएको छ । माध्यामिक तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएकी श्री कार्की, सामाजिक क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजालको पूर्व अध्यक्ष, आवाज नेपाल दोलखाको अध्यक्ष, जिल्ला संवाद समुह सदस्य, जिल्ला बाल कल्याण समितिको पूर्व सदस्य, लैङ्गिक हिंसा नियन्त्रण कार्यकारिणी समिति संयोजक, जिल्ला अदालत न्यायक्षेत्र समन्वय समिति सदस्य, एकद्धार संकट व्यवस्थापन समिति सदस्य आदि संस्था पनि उत्तिकै सक्रियताका संलग्न हुदै गर्दै सहकार्य गर्दै आउनु भएको छ । स्थानीय निकाय र सुभेच्छुकहरुको सहयोगबाट हाल सम्म २२५ जनालाई उद्धार गरी अग्रणी रूपमा काम गरेर धेरै बालकालिका, चेलीहरूका संरक्षण, हेरचाह र अधिकार स्थापना गर्ने कार्यमा आमाको भूमिका निर्वाह गर्न सफल श्री कार्कीले हाल ४ महिला २ किशोरी ६ बालबालिकालाई संरक्षण दिईरहनु भएको छ । महिला उत्थान क्षेत्रमा उल्लेखनीय काम गरे बापत प्रमुख कार्यहरुलाई समेटेर नेपाल स्थिति संयुक्त राष्ट्र संघ विकास कार्यक्रमले भिडियो निर्माण गरी उत्प्रेरक महिला अभियन्ताको रुपमा चित्रण गरेको छ । उहाँको कामको कदरस्वरुप विभिन्न सार्वजनिक तथा सामाजिक संधसस्थाहरुले सम्मान गर्दै आएका छन् । यसै क्रममा श्री कार्की, एन पिस अवार्ड २०१७, प्रहरी दिवस २०७५ जिल्ला प्रहरी कार्यालय दोलखाबाट र निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूबाट प्रशंसा पत्र पाउनु भएको छ भने उज्यालो भविष्य दोलखा, सन्तोष कार्की स्मृति प्रतिष्ठान काठमाण्डौ, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिला मञ्च, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला तथा बालबालिका सेवा निर्देशनालय,महिला अधिकार मञ्च दोलखा, मनमोहन स्मृति प्रतिष्ठान दोलखा, तिज विशेष कार्यक्रम आयोजक समिति, दोलखा लगायत दर्जनांै संघ संस्थाहरुबाट उहाँ सम्मानित एवं विभूषित भई सक्नु भएको छ ।