देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार(२०१९ बाट सम्मानित श्री प्रितम आचाय

संक्षिप्त परिचयः

झापाको धरमपुर, मंगलवारेमा पिता काशीनाथ आचार्य र माता राधिका आचार्यको कोखबाट दोस्रो सन्तानको रुपमा वि.सं. २०६५ जेठ १० जन्मनुभएका प्रितम आचार्यले हाल इटहरी–५, सुनसरीमा बसोबास गर्दै आउनुभएको छ । उहाँ इटहरी–४, सुनसरी स्थित विश्व–आदर्श एकेडेमीमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । पाँच बर्षको कलिलो उमेरदेखि गुनगुनाउन थाल्नु भएका प्रितमको पहिलो औपचारिक सांगितिक यात्रा तीनजुरे, एरिना टेलिभिजनद्वारा आयोजित स्कुल आइडल गीत प्रतियोगितामा ६ वर्षको उमेरबाट आरम्भ भएको थियोे । आठ वर्षको हुदा कान्तिपुर टेलिभिजनद्वारा प्रसारित पतन्जली सुरशाला आइडलमा दोस्रो स्थान प्राप्त गर्नुभएको थियो । १० वर्षको उमेरमा भारतको जि.टि.भि. द्वारा अन्तर्राष्ट्रियस्तरको सारेगमप लिटल च्याम्प्स–२०१९ मा जनाउनु सहभागिताले प्रितमको सांगितिक ख्याति अन्तर्राष्ट्रिय जगतमा समेत विस्तार भएको छ । उक्त प्रतियोगितामा उहाँले तेस्रो स्थान हाँसिल गर्नुभएको थियो । जि.टि.भि.सँगको करार अनुसार सांगितिक प्रस्तुतिका लागि विश्वका विभिन्न मुलुकहरुमा (हङ्गकङ्ग देखि दक्षिण अफ्रिकासम्म) आफ्नो क्षमता प्रस्तुत गरी सक्नु भएको छ । यसरी नै दर्जनौ गीति एल्बमहरुमा आफ्नो सुमधुर स्वर दिईसकेका उहाँले आफ्नै गीतको म्युजिक भिडियोमा समेत मोडलिङ्ग समेत गर्दै आउनु भएको छ । वहाँको यो अनुपम प्रतिभालाई सम्माननीय प्रधानमन्त्री श्री के.पी. ओलीज्यूद्वारा व्यक्तिगत रुपमा भेटी प्रशंसा तथा सम्मान गर्नु भएको छ । यसरी नै बाल दिवस २०७६ को अवसरमा प्रदेश १ का सम्माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यू र माइति नेपालबाट पनि उहाँलाई सम्मान गरिएको छ । प्रितमको गायनको कदर गर्दै विश्व–आदर्श एकेडेमीद्वारा २२ औं अभिभावक दिवसको अवसरमा प्रशंसा पत्र सहित उहाँलाई स्नातोकत्तरसम्मको शिक्षा निःशुल्क उपलब्ध गराउने भएको छ । प्रितमको यस ख्यातिले वहाँको निजी जीवन मात्र नभई राष्ट्रको श्रीवृद्धिमा पनि योगदान पुगेको छ । वहाँ बन्दै गएको सार्वजनिक छवि, क्यान्सर पिडितको उपचारार्थ भैरहवामा आयोजित गायन कार्यक्रम मार्फत रकम संकलन तथा धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा रङ्गशालाको निमार्ण सहयोगार्थ निर्मित चलचित्र सेन्टी भाइरसमा बालकलाकारको भूमिका निर्वाहले सामाजिक सेवाका लागि समेत उपयोगी बनेको छ । डा.भगवान कोइरालासमेतको संलग्नतामा बालबालिकाको लागि सातैवटा प्रदेशमा स्थापना गर्न लागिएको मुनाफा रहित अस्पतालको लागि सद्भावनादुतको रुपमा नियुक्त हुनु भई बालबालिकाको हित प्रवर्धनमा समेत सक्रिय रहदै आउनु भएको छ ।

Scroll to Top