संक्षिप्त परिचयः
श्री राजेन्द्रराज पन्तको जन्म २००९ साल साउन महिनामा रक्तकाली, काठमाण्डौंमा पिता श्री कृष्णराज र माता कोमललक्ष्मी पन्तको पहिलो सन्तानको रुपमा भएको थियो । पालुङ्गटार नगरपालिका– ७, च्याङ्गली, गोरखामा आफ्नै परिवारको रेखदेखमा २०५२ सालबाट श्री कामधेनु गाई पालन केन्द्र संचालन गर्दै आउनुहुने श्री पन्तले स्नातक तहसम्मको अध्ययन र गाइपालन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको अनुभव हासिल गर्नुभएको छ । सातवटा गाइ पालन गरी आरम्भ गरिएको यस केन्द्रमा हाल ३५० वटा गाइहरुबाट दिनको १३५० लिटर दूध उत्पादन एवं विक्री वितरण भई मासिक सरदर २१ लाख रुपैया बराबरको कारोबार हुने गरेको छ । नमूना डेरी केन्द्रका समेत संचालक रहनु भएका श्री पन्तको यस केन्द्रले जम्मा ४०० रोपनी क्षेत्रफल ओगटेको छ । दुग्ध उत्पादन लागत घटाउन घांसमा आधारितभई स्वच्छ, स्वस्थकर दूध उत्पादन, सफल, आकर्षक, नमुना अगुवा गाइ पालन गर्न ३८० रोपनी जमिनमा विभिन्न १९ थरिका कोसे, अकोसे, भूई र डालेघांस खेती गरिएको छ । वंश सुधार गर्न वाच्छीमात्र पाउने सेक्सड सिमन प्रयोग गरी कृत्रिम गर्भाधान कार्यक्रम पनि संचालन गरिएको छ । थुप्रै मौलिक, नविनतम एवं अनुकरणीय दूग्ध अभ्यासहरु गर्दै आएको यस केन्द्रसंग आफ्नै दुईवटा चिलिङ्गभ्याट र जेनरेटर पनि रहेका छन् । गाइहरुलाई बस्नको लागि काउ म्याट र जाडोमा तातोपानीको लागि सोलार हिटरहरुको ब्यवस्था पनि गरिएको छ । दुध दुहुन र घासको व्यवस्थको लागि आधुनिक प्रविधि प्रयोग गरिएको छ । बढी दूधदिने क्षमता भएका बुल मदरको पालन तथा उपलब्धता पनि यस केन्द्रको विशेषता हो । पशु विकास मन्त्रालयको राष्ट्रिय सल्लाहकार एवं दूग्ध विकास वोर्डको सल्लाहकार रहनुभएका श्री पन्तको यस अनुकरणीय कार्यको दैनिकरुपमा हुने सयौको अवलोकनले यस केन्द्रमा भएको प्रविधि, ज्ञान, अनुभव तथा सीपहरुको फैलावट अन्यत्र पनि भइरहेको छ । उच्च नश्लको साडें, वहर उत्पादन गरी राष्ट्रिय प्रजनन् केन्द्र, पोखरालाई उपलब्ध गराइ रहेको यस गाइपालन केन्द्रमा दर्जनौंले रोजगारीको अवसर पाई रहेका छन । ं कृषि पर्यटनको नमूनानै बन्न सफल यस केन्द्रको दूध उत्पादन क्षमता बढाएर दैनिक करिव ५,००० लिटर पुर्याउने योजनामा रहेका पन्त आफै डेरी संचालन गरी देशका युवाशक्तिलाई विदेश पलायनहुनबाट जोगाउने र देशलाई दूधमा आत्मनिर्भर बनाउनको लागी पर्नु भएको छ । व्यावसायिक ढंगले गाइपालनमा हौसला बढाउन एवं प्रोत्साहनगर्न निरन्तररुपमा पथप्रदर्शकको भूमिका निर्वाहगर्दै आउनु भएका श्री पन्त एन.भी.ए. उद्यमशीलता पुरस्कार, २००८, समाज सेवा पदक (२०६७), क्षेत्रीयस्तरको राष्ट्रपति पुरस्कार (२०७४), एवं राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार (२०७४(२०७५) बाट सम्मानित भई सक्नु भएको छ । यसरी नै पशुपालनबाट मुलुकको आर्थिक सम्बृध्दिमा राष्ट्रिय योगदान पुर्याउन सफल कृषक श्री पन्तलाई नेपाल पशु विज्ञान संघ, राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूग्ध उत्पादक कृषक समाज, केन्द्रीय दूग्ध सहकारी संस्था, कृषि विकास बैंक गोरखा, जिल्ला पशुसेवा कार्यालय गोरखा, नेपाली सेना श्री कल्याणकारी योजना निर्देशनालय, सशस्त्र प्रहरी वल, मनकामना,श्री ३ नं. वाहिनी अड्डा, अखिल किसान महासंघ क्रान्तीकारी, नेपाल डेरी एसोसियसन, गोरखा सेवा समाज केन्द्र, २८ औं विश्व खाद्य दिवश समिति (२०६५), स्थानिय तहलगायत दर्जनौ निकायहरुबाट समेत सम्मान पाई सक्नु भएको छ ।