प्रेस-विज्ञप्तिः RUGSAOF १२ औं राष्ट्रिय सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान (RUGSOAF)
भद्रपुर –७ झापा

प्रेस विज्ञप्ति


श्रद्धेय पत्रकार बन्धुज्यूहरु,

समाज, समुदायमा भएका उल्लेख्य र अनुकरणीय अभ्यास, प्रयास र योगदानलाई सम्मान र पुरस्कारको माध्यमबाट उत्साहित र प्रेरित गर्दै सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै श्रद्धेय स्व. श्री श्रीप्रसाद ओलीज्यूले एक करोड रुपैयाको अक्षयकोषबाट २०६७ सालमा झापामा स्थापित यस रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले स्थापना कालदेखि नै विभिन्न विद्यालय र स्थानीय संधसस्थाहरुलाई आर्थिक तथा भौतिक स्रोतसाधनहरुको उपलव्ध गराई सामाजिक सेवा गदै आएको छ ।

सामाजिक सेवा बाहेक यस प्रतिष्ठानको विशिष्ट पहिचान भनेको संस्थाबाट प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार हुन् । प्रतिष्ठानले “रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार”, “गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार”, “अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य पुरस्कार” तथा “देवी ओली स्मृति बाल पुरस्कार”को शिर्षकमा विधागत पक्ष र क्षेत्रमा उल्लेख्य र अनुकरणीय कार्यगरी समाजलाई
उन्नत बनाउन गरेका असल अभ्यासमा संलग्न व्यक्ति एवं संस्थालाई हौसला, प्रेरणा प्रदान गर्न हरेक वर्ष एकल वा संयुक्त रुपमा रु. १,०१,१११/-(एकलाख एक हजार एकसय एघार रुपैया) राशीका सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको छ ।


यसै कडीलाई जोड्दै वि.स.२०७८ देखि प्रतिष्ठानले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको प्रतिष्ठा बढाउन योगदान गरेका व्यक्ति वा संस्थाहरूको कार्यलाई समेत कदर गर्ने उद्देश्यका साथ प्रत्येक दुई वर्षमा एकल वा संयुक्त रुपमा रु. ५,००,०००/- (पाँच लाख रुपैया) राशीको “श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार” पनि प्रदान गर्न आरम्भ गरेको छ ।

प्रतिष्ठानले हालसम्म श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट २ जना, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट ११ जना, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट १० जना, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट १० जना तथा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट ११ जनालाई कदर गर्ने अवसर प्राप्त गरीसकेको छ ।


यसै क्रममा वि.स.२०८२ (सन २०२५)का लागि “श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार” तथा “रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार” बाट मिति २०८३ जेष्ठ ३० गते सम्माननिय पूर्व मन्त्रीपरिषद् अध्यक्ष तथा प्रधानन्यायधीश श्री खिलराज रेग्मीज्यूको प्रमुख आतिथ्यमा देहायका व्यक्ति तथा संस्थाहरुलाई संयुक्तरुपमा एक समारोहका बीच पुरस्कार समर्पण तथा सम्मान गर्ने कार्यक्रम रहेको व्यहोरा यस विज्ञप्तिमार्फत जानकारी गराउन पाउदा हर्ष लागेको छ ।


१. “श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार”राशी रु ५,००,०००/-(रुपैया पाँच लाख)
क. आफ्नो जीवनको ५० वर्ष नेपालमा गुणस्तरीय प्राविधिक, व्यवसायिक तथा उच्च शिक्षाको उन्नयन, विकास तथा प्रयोगमा शिक्षक, प्रशासक, नीति निर्माता एवं पथप्रदर्शकका भूमिकामा समर्पित भएर पु¥याउनु भएको योगदानको कदरस्वरुप अग्रणी व्यक्तित्व प्राध्यापक डा. श्री सुरेशराज शर्मा तथा

ख. राष्ट्रको दिगो विकासमा देश सुहाउदो नवप्रवर्तनको संस्कृति विकासका लागि युवा वैज्ञानिक तथा नवप्रवर्तकलाई अभिप्रेरित गर्न साझामञ्चको रुपमा राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापनागरी आरम्भ
गरेको अभियानलाई प्रोत्साहित गर्दै देश सुहाउदो प्रविधि विकासको अवसर सिर्जना गर्न सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित तथा परिचालित राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्तरुपमा यो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ ।


२. “रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार” राशी रु. १,०१,१११/- (एकलाख एक हजार एकसय एघार रुपैया)
क. नेपालमा पहिलो पटक उच्च घनत्वको स्याउ उत्पादनमा अग्रणी कृषकको भूमिका निर्वाह गर्दै स्थानीय उत्पादन अभिवृद्धि, ग्रामीण रोजगारी प्रवर्द्धन, आयात प्रतिस्थापन तथा जलवायु परिर्वतनको प्रभाव न्यूनीकरण गरी वातावरण सन्तुलनमा योगदानका लागि एग्रो मनाङ प्रा.लि. तथा

ख. वागवानी क्षेत्रमा अध्ययन अनुसन्धान गरी मुलुकको भौगोलिक अवस्थिति र हावापानी सुहाउदो फलफूल तथा सोका लागि जनशक्ति विकासमा पुर्याएको योगदानका लागि कृषि विज्ञ श्री चुटराज गुरुङलाई संयुक्तरुपमा यो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ ।


सम्मानित व्यक्तित्वहरुले राष्ट्र र समाजमा पुर्याएको प्रमुख योगदानको विस्तृत विवरण यसै साथ संलग्न गरिएको छ । पर्यटन बोर्ड, भृकुटीमण्डपमा जेठ ३०, २०८३ मा दिउसो १.०० बजे हुने उक्त सम्मान
कार्यक्रममा सहभागिताका लागि यहाँहरुलाई हार्दिक आमन्त्रण गर्दछु ।


गंगाप्रसाद ओली
अध्यक्ष
रुद्र– गौरी श्री –अम्बिका ओली प्रतिष्ठान भद्रपुर –७ झापा
वेबसाईटः www.rugsaof.org.np इमेलः [email protected]

Scroll to Top